रारा पुर्याइयो दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
१३ मंसिर सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च आइतबार (मंसिर १३) कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल मुगुको राराताल पुर्याइएको छ । रारातालमा ट्रफी र ओलम्पिक टर्च पुर्याइनुले खेलकुद र पर्यटनलाई एकसाथ जोड्ने प्रयास गरिएको छ ।म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा अघि बढेको टोली कालीकोट र जुम्ला हुँदै रारा पुगेको हो । रोकायासँगै टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्णपदक विजेता दीपक श्रेष्ठ, ओलम्पियन देबु थापा, कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा टुर शुक्रबार (मंसिर ११) दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी सुरु गरिएको थियो ।टोलीले शनिबार (मंसिर १२) जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पुर्याएको थियो । जुम्ला बजार परिक्रमा गराएर मन्दिर पुर्याइएको ट्रफी तथा टर्च त्यसपछि रारा लगिएको हो ।
राराताल समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा अवस्थित छ । निलो पानी, प्राकृतिक सौन्दर्य र वरिपरिका वनजंगलले घेरिएको रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षणका रूपमा परिचित छ ।ट्रफी र ओलम्पिक टर्च रारासम्म पुर्याइनुले प्रतियोगिताको प्रचारप्रसारसँगै कर्णालीका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत योगदान पुर्याउने ओलम्पियन बिष्टले बताए ।दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा जारी छ । प्रतियोगिताको औपचारिक उद्घाटन भने यही मंसिर १६ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने तय छ ।