नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
570
SHARES

२६ श्रावण काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको हो ।   साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ गतवर्षभन्दा भव्य हुने संयोजक गौरव शारडाले बताएका छन् । उनका अनुसार एक्स्पोमा एकातिर चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा उभिनेछ भने अर्कोतर्फ दर्जनौँ नयाँ विद्युतीय र हाइब्रिड सवारीले भविष्यको सडक कस्तो हुनेछ भन्ने चित्र देखाउनेछन् ।

साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्म एउटै छानामुनि उभिँदा भृकुटीमण्डप केही दिनका लागि केवल प्रदर्शनीस्थल रहने छैन, नेपालको बदलिँदो ‘मोबिलिटी’ इतिहासको साक्षी बन्नेमा नाइमा ढुक्क छ ।

अटोमोबाइल उद्योगका लागि यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एउटा व्यापारिक मेलामात्र नभएर बजारको नयाँ शक्ति–सन्तुलन घोषणा गर्ने मञ्च पनि हुने उनको भनाइ छ । सार्वजनिक हुने ४० भन्दा बढी नयाँ मोडलले अब नेपाली सडक पेट्रोल र डिजेलको आवाजभन्दा ब्याट्री, सफ्टवेयर र स्मार्ट प्रविधितर्फ मोडिइसकेको देखाउने उनको भनाइ छ ।

इन्धनबाट विद्युतीयतर्फको तीव्र विकास, विश्वका नयाँ–नयाँ ब्रान्डहरूको नेपाल प्रवेश, स्मार्ट प्रविधिले भरिएका सवारी र चाडपर्वअघिको बजारको उत्साहलगायतका सबै एकै ठाउँमा देख्न पाइने भएकाले यसपटकको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई व्यवसायीहरूले अटो शो मात्रै नभएर ‘मोबिलिटीको महाकुम्भ’ हुने शारडा बताउँछन् ।प्रदर्शनीमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुँदैछन् ।  २६ चारपांग्रे, १८ दुईपांग्रे र आठ व्यावसायिक सवारी ब्रान्डसँगै ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने दाबी आयोजकको छ ।