गरिमा सुवर्ण योजनाको एकाई बिक्री अनलाइन कारोबार सुरु


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
437
SHARES

२६ श्रावण काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को एकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु भएको छ । गरिमा विकास बैंकको प्रवर्धित र गरिमा क्यापिटलको व्यवस्थापन गरिएको यस योजनाको कारोबार आज (साउन २६ गते) मंगलबारदेखि आधिकारिक रूपमा सुरु भएको हो ।

लगानीकर्ताहरूलाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस अनलाइन प्रणालीमार्फत लगानीकर्ताहरूले विभिन्न सुविधाहरू लिन सक्ने क्यापिटलले बताएको छ ।

अनलाइन प्रणालीमार्फत उपलब्ध हुने मुख्य सुविधाहरू अन्तर्गत एकाई खरिदका लागि आवेदन र रकम भुक्तानी गर्न सकिने, व्यवस्थित लगानी योजना (क्क्ष्ए) दर्ता र यसको किस्ता भुक्तानी गर्न सकिने छ । यससँगै, लाभांश पुनःलगानी योजनामा दर्ता हुन सकिने, एकाई पुनर्खरिद, एसआईपी संशोधन तथा रद्द गर्ने सुविधा र प्रोफाइल व्यवस्थापन रहेको जनाएको छ ।

गरिमा क्यापिटलका अनुसार, अनलाइन सुविधाहरू क्रमिक रूपमा थप गर्दै लगिनेछ । लगानीकर्ताहरूले अनलाइनबाहेक कमलपोखरी, काठमाडौंस्थित गरिमा क्यापिटलको कार्यालय वा देशभर रहेका गरिमा विकास बैंकका शाखा कार्यालयहरूमा उपस्थित भई समेत सेवा प्राप्त गर्न सक्नेछन् । योजनाको एकाई खरिद तथा बिक्री ‘कट–अफ’ समयअनुसार निर्धारण गरिने खुद सम्पत्ति मूल्यका आधारमा हुनेछ ।