प्रचण्डको निर्देशनमा हामीले लडेर ल्याएको गणतन्त्रमा तिमीहरूको ताण्डव नृत्य कहिलेसम्म ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३
722
SHARES

२२ आश्विन काठमाडौं । लामो १० वर्षे जनयुद्ध्, हजारौँ नागरिकको बलिदान र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १० वर्षभन्दा बढी भइसकेको छ। तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मूल नेतृत्व र निर्देशनमा भएको जनयुद्धले नै नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको बलियो आधार तयार पारेको इतिहास साक्षी छ।  तर, जुन व्यवस्थाका लागि आम जनता र कार्यकर्ताले आफ्नो रगत-पसिना बगाए, आज त्यही गणतन्त्रभित्र राजनीतिक दलहरू र नेताहरूको व्यवहारलाई लिएर जनतामा चरम आक्रोश र असन्तुष्टि बढ्दै गएको छ। अहिले सामाजिक सञ्जालदेखि चियापसलसम्म एउटै प्रश्न गुन्जिरहेको छ— “हामीले लडेर ल्याएको गणतन्त्रमा नेताहरूको यो राजनीतिक ताण्डव नृत्य कहिलेसम्म?”

परिवर्तन आयो, जनताको अवस्था उस्तै

गणतन्त्र स्थापनापछि देशले ठुलो राजनीतिक फड्को मार्यो, नयाँ संविधान बन्यो र स्थानीय तहसम्म अधिकार पुग्यो। तर, व्यवस्था बदलिए पनि सर्वसाधारण नागरिकको जीवनस्तरमा ठोस परिवर्तन आउन नसकेको गुनासो व्यापक छ। नेताहरू सत्ताको लुछाचुँडी, पार्टीभित्रको आन्तरिक विवाद र व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा आम जनताले महँगी, बेरोजगारी, भ्रष्टाचार र सुशासनको अभाव जस्ता समस्या निरन्तर भोग्नुपरिरहेको छ।  “धन्न प्रचण्डको निर्देशन र बलिदानले गणतन्त्र आयो र नेताहरूले शक्ति अभ्यास गर्न पाए, तर जनताको भाग्य भने अझै प्रतीक्षामै छ,” भन्दै नागरिकहरूले आक्रोश पोख्न थालेका छन्।

मुलुकमा पटक-पटक सरकार परिवर्तन भइरहने खेल, राजनीतिक भागबन्डा र पदका लागि जे जस्तो सम्झौता पनि गर्न तयार हुने प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठाउनेहरूलाई बल पुगिरहेको छ। हालैका दिनहरूमा देखिएका राजनीतिक घटनाक्रम, दलहरूबीचको खिचातानी र सत्ताको खिइँदो खेललाई नागरिकहरूले ‘नाङ्गो ताण्डव नृत्य’ को संज्ञा दिएका छन्।

गणतन्त्र कुनै निश्चित दल वा नेताको व्यक्तिगत स्वार्थ पूरा गर्ने थलो मात्र नभएर आम नेपालीको आर्थिक र सामाजिक रूपान्तरणको माध्यम हुनुपर्ने जनअपेक्षा थियो। तर, नेतृत्व तहले जनभावना विपरीत काम गरिरहँदा, हिजो गणतन्त्रका लागि लडेका कयौँ योद्धाहरू र नागरिकहरू आज आफैँले स्थापित गरेको व्यवस्थाभित्र मौलाएको विकृति देखेर निराश बनेका छन् र सोधिरहेका छन्— यो बेथिति र ताण्डव कहिलेसम्म चलिरहने हो? – उनि नेपाली कम्युनिष्ट पार्टी – गण्डकी प्रदेश समिति सदस्य हुन् ।