म बुढो भएको छैन, जति हाने पनि ढल्दिनँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
665
SHARES

२५ असोज काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार गरेर पनि नढल्ने बताएका छन्। एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभारतका भीष्म पितामहतको प्रसंग निकाले। अर्जुनले जति तिर हाने पनि केही नभएको स्मरण गराए।

त्यस्तै, आफूमाथि पनि अनेक प्रहार भएको उनको भनाइ थियो। ‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो,’ ओलीले भने।

जति प्रहार भए पनि आफू भीष्म पितामहजस्तो बुढो नभएकाले नढल्ने ओलीको भनाइ थियो। ‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए। म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ उनले भने। साढे पाँच दशक देश र जनताकै लागि राजनीतिमा बिताएको उनले सुनाए। अझै पनि देश र जनताकै लागि काम गर्ने ओलीको भनाइ थियो।

‘५७ वर्षअघि यस आन्दोलनको पुनर्गठन, एकीकरण, क्रान्तिकारी आन्दोलन थालेको थिएँ। पञ्चायत फाल्ने, राजतन्त्र ढाल्ने र त्यसपछि समाजवादमा पुग्ने भन्ने त्यतिवेलाको उद्देश्य थियो। म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चाय फालिएको छ,’ उनले भने।

राज्यले अहिले मात्रै नभएर त्यतिबेला पनि झुटा मुद्दा लगाएको, जेलमा हालेको उनले उल्लेख गरे। ‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो,’ उनले भने। उनले बाचुञ्जेल कसैका सामु नझुक्ने उनले बताए। ‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाचुञ्जेलसम्म बैरीसँग झुकिँदैन,’ ओलीले भने।

आफूलाई मर्न डर नभएको उनको भनाइ थियो। ‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुरा कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन,’ ओलीले भने, ‘मरिन्छ, यो देशका लागि।’