आज नवरात्रको तेस्रो दिन


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३
95
SHARES

२७ असोज काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको आराधना गर्नाले शक्ति प्राप्त हुनुका साथै पाप नाश हुने विश्वास गरिन्छ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले शिरमा अर्धचन्द्र र हातमा घण्टा धारण गर्ने भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् घण्टामा चन्द्रमा रहेकी देवीलाई चन्द्रघण्टा भनिएको छ ।

नवरात्रमा देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वासका कारण विशेष अनुष्ठान गर्ने परम्परा छ । चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । अत्याचारी र दानवी शक्तिको नाश गर्ने विश्वास गरिन्छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको ध्यान गर्दा मणिपुर चक्रमा ध्यान केन्द्रित गरिने परम्परा छ । देवीको स्वरूपको ध्यान तथा आराधनाबाट विभिन्न शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने उल्लेख छ । शान्त, सौम्य र करुणामयी स्वरूपकी देवी चन्द्रघण्टाको गीतसङ्गीत क्षेत्रमा लागेकाहरूले पनि विशेष आराधना गर्ने परम्परा रहेको छ । आज देवीको पूजा, आराधना र ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने धार्मिक विश्वास छ । नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राख्ने परम्परा छ । यस वर्ष घटस्थापनाका दिन वैदिक विधिअनुसार कलश स्थापना गरी देवीको आह्वान र पूजा आराधना गरिएको थियो । श्रीमद्देवीभागवतलगायत पुराणमा घटस्थापनालाई देवीको ध्यान र साधनामा आफूलाई समर्पित गर्ने प्रक्रियाका रूपमा व्याख्या गरिएको छ ।

घटस्थापनाको दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने परम्परा छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवीका विभिन्न स्तोत्र पाठ गर्ने चलन छ । धार्मिक मान्यताअनुसार नवरात्रमा दुर्गा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ देवीलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका प्रमुख शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गरेको छ । नवरात्रका नौ दिनमा कम्तीमा नौवटा शक्तिपीठमा पुगेर पूजा तथा दर्शन गर्ने धार्मिक मान्यताका कारण कतिपय भक्तजन विभिन्न मन्दिरमा पुग्ने गर्छन् ।

नवरात्रमा गरिएको पूजा आराधनापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद र टीका लगाउने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन् ।