माओबारे टिप्पणी गरेपछि एम्बाप्पेले मागे माफी


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३
228
SHARES

११ कार्तिक काठमाडौँ । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओत्से तुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् । उनको टिप्पणीप्रति चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसायिक साझेदारीसमेत अन्त्य गरेका छन् ।रियल मड्रिडका फरवार्ड एम्बाप्पेले फ्रान्सेली टक शो ‘द ब्रिज’ मा कुराकानी गर्ने क्रममा आफूलाई सबैभन्दा हँसाउने इन्टरनेट मिमबारे चर्चा गरेका थिए । त्यस क्रममा उनले एउटा भिडियोलाई ‘चिनियाँ तानाशाह’सँग जोड्दै हाँसेको दृश्य सार्वजनिक भएपछि विवाद सुरु भएको हो । मिममा माओजस्तो देखिने तस्बिरमा एम्बाप्पेको अनुहार जोडिएको थियो ।

फुटबलमा एम्बाप्पेको ठूलो प्रभावलाई व्यङ्ग्य गर्दै उनलाई ‘तानाशाह’ भन्ने गरिएको प्रसंगसँग मिम जोडिएको बताइएको छ ।‘मेरो टिप्पणी उचित थिएन । त्यसले चीनका धेरै मानिस र विश्वभर रहेका चिनियाँ समुदायलाई चोट पुर्‍याएको मैले अहिले बुझेको छु,’ एम्बाप्पेले वक्तव्यमार्फत भनेका छन्, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु ।’

स्पेनिस ला लिगाले पनि चिनियाँ समर्थकमा एम्बाप्पेको टिप्पणीले पुर्‍याएको चोटप्रति दुःख व्यक्त गर्दै माफी मागेको छ ।

चिनियाँ ब्रान्डले तोडे साझेदारी
चिनियाँ सामाजिक सञ्जालमा एम्बाप्पेको टिप्पणीको व्यापक आलोचना भएको छ ।

केही प्रयोगकर्ताले चीनको बजारबाट लाभ लिने तर चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने टिप्पणी गर्ने भन्दै उनको आलोचना गरेका छन् । एम्बाप्पे र उनको क्लब रियल मड्रिडलाई बहिष्कार गर्नुपर्ने मागसमेत उठेको छ ।

विवाद बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो दुग्ध उत्पादक कम्पनीमध्ये एक मेङ्निउले चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने अभिव्यक्ति वा व्यवहारप्रति शून्य सहनशीलता अपनाउने जनाएको छ ।

पेय पदार्थ उत्पादक कम्पनी डोङपेङले पनि यस्तै धारणा सार्वजनिक गरेको छ । यद्यपि, दुवै कम्पनीले साझेदारी अन्त्यको कारणका रूपमा उक्त भिडियोलाई प्रत्यक्ष उल्लेख गरेका छैनन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सरकारी प्रसारक सीसीटीभीका समाचार एपमा म्बाप्पेसम्बन्धी सामग्री प्रसारण नगरिने बताइएको छ ।

चिनियाँ सञ्चारमाध्यमले मंगलबारदेखि सीसीटीभीले ला लिगाका खेलसमेत प्रसारण नगर्ने जनाएको समाचार सार्वजनिक गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पनि यस विषयमा प्रतिक्रिया दिएका छन् । उनले चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने अभिव्यक्ति र व्यवहारको समाजका विभिन्न क्षेत्रबाट विरोध हुनु स्वाभाविक भएको बताएका छन् ।

माओबारे टिप्पणी किन संवेदनशील ?
माओत्से तुङले सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेका थिए । सन् १९६० र १९७० को दशकमा उनको शासनकालमा भएका ‘ग्रेट लिप फरवार्ड’ र ‘सांस्कृतिक क्रान्ति’ जस्ता अभियानका कारण ठूलो मानवीय क्षति भएको थियो ।

विशेषगरी ‘ग्रेट लिप फरवार्ड’ अभियानसँग जोडिएको भोकमरीमा करोडौँ मानिसको मृत्यु भएको इतिहासकारहरूको अनुमान छ ।

सन् १९७६ मा माओको मृत्युपछि चीनले आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा नयाँ दिशा लिएको थियो । तर, चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई अझै पनि राष्ट्रिय इतिहासको महत्त्वपूर्ण व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले माओबारे गरिने व्यङ्ग्य वा टिप्पणीलाई चीनमा राजनीतिक र राष्ट्रिय संवेदनशीलतासँग जोडेर हेरिन्छ ।

एम्बाप्पेसम्बन्धी उक्त भिडियोको मूल संस्करण भने कार्यक्रमको युट्युब च्यानलमा उपलब्ध छैन । सार्वजनिक भएका क्लिपमा उनले माओको नाम स्पष्ट रूपमा लिएको देखिँदैन । उनले उक्त मिम साथीहरूसँग नियमित रूपमा प्रयोग गर्ने गरेको बताएका छन् ।

चिनियाँ फुटबलसम्बन्धी अनलाइन मञ्च डोङछिउदीले सोमबार राति एम्बाप्पेको टिप्पणीलाई अनुचित र चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने खालको भन्दै सार्वजनिक रूपमा ध्यानाकर्षण गराएपछि विवाद थप फैलिएको बताइएको छ ।

चीन एम्बाप्पेका लागि महत्त्वपूर्ण व्यावसायिक बजार हो । त्यहाँका ब्रान्डहरूले उनीसँग करोडौँ मूल्यका विज्ञापन तथा प्रवर्द्धन सम्झौता गरेका छन् । विवादपछि वेइबो सामाजिक सञ्जालमा एम्बाप्पेसम्बन्धी विषय चर्चित बनेका छन् ।

यसअघि एम्बाप्पेले इतिहासमा लाखौँ मानिसलाई दुःख दिएका तानाशाहहरूसँग आफूलाई तुलना गरिने मिमबारे पनि असहजता व्यक्त गरेका थिए । उनले यस्ता मिममा राजनीतिक र मानवीय संवेदनशीलताको अभाव देखिने बताएका थिए ।