आईजीपी कार्कीले बोलाए आकस्मिक पीसीसी बैठक


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८३
209
SHARES

१२ कार्तिक काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नीति समन्वय समिति (पीसीसी) बैठक बोलाएका छन्।प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पनि बोलाइएको छ।

बैठकमा काठमाडौँ उपत्यकाभित्रका प्रहरी वरिष्ठ उपरीक्षकहरू पनि सहभागी हुने भएका छन्। सामान्यतया उपत्यकाभित्रका डीआईजी र एआईजीलाई मात्रै पीसीसी बैठकमा बोलाउने गरिएको थियो।  तर यसपटक एसएसपी र उपत्यका बाहिरका डीआईजीलाई पनि बोलाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। बैठकमा शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ।

नीति समन्वय समितिको बैठकमा संगठनका विषयमा छलफल हुने गर्छ।यहाँ संगठनले लिनु पर्ने नीति र संगठनको सामूहिक धारणा बनाउने विषयमा छलफल हुने गरे पनि यसपटक शान्ति सुरक्षाका विषयमा छलफल गर्ने भनिएको छ।

सरकारसँग पछिल्लो समय आईजीपी कार्कीको सम्बन्ध बिग्रिएको र प्रधानमन्त्रीले कार्कीलाई हटाउन चाहेका विषय सार्वजनिक भइरहेका बेला कार्कीले आकस्मिक पीसीसी बैठक बोलाएका हुन्।