सबै कम्युनिस्ट पार्टी एकताबद्ध हुनुपर्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८३
285
SHARES

१७ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सहकार्य गरेका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन आह्वान गरेका छन् । मंगलबार पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले केपी शर्मा ओली, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतृत्वमा रहेका कम्युनिस्ट समूहलाई पनि एकताबद्ध गर्नुपर्ने बताएका हुन् ।

उनले देश असाधारण संकटबाट गुज्रिरहेको भन्दै कम्युनिस्ट मात्र नभई देशभक्त र लोकतन्त्रवादी शक्तिबीचको एकता पनि ऐतिहासिक आवश्यकता बनेको बताए । “विगतमा हामीले एकता गर्‍यौँ । थुप्रै उतारचढावहरू भोग्यौँ । आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई अझ फराकिलो गर्नुपर्ने अवस्था आएको छ,” प्रचण्डले भने ।

सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले व्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । कम्युनिस्ट आन्दोलनमा विगतमा भएका विभाजन र उतारचढावलाई समीक्षा गर्दै बाँकी रहेका शक्तिलाई समेत एकताको प्रक्रियामा ल्याउनुपर्ने प्रचण्डको प्रस्ताव छ ।