९ खर्ब ३७ अर्बको वैदेशिक व्यापारमा ६ खर्ब ६८ अर्ब घाटा


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
475
SHARES

९ मंसिर काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को चार महिनामा ९ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि कात्तिकसम्म ९ खर्ब ३७ अर्ब २४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालू आवको साउनदेखि कात्तिकसम्मको अवधि वैदेशिक व्यापारमा नेपालले ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको थियो ।भन्सार विभागका अनुसार चालू आवको चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७७ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालू आवको कात्तिकसम्म एक खर्ब ३४ अर्ब १४ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.४८ प्रतिशत बढी हो । त्यसबेला ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।