निर्वाचन एकैचोटि गर्न खोजे देश फेरि राजनीतिक दुर्घटना जान्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८३
209
SHARES

१० मंसिर काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका छन्। आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुवै सरकार संविधान अनुसार ५ वर्ष चल्न पाउनुपर्ने बताए।उनले भने, ‘हामीले सँगै र छुट्टाछुट्टै भन्ने विषयलाई बहसको विषय बनाउन हुँदैन। संविधानले र कानुनले जे भनेको छ त्यही हुनुपर्छ। पाँच वर्ष दुवै सरकार पाउनुपर्‍यो। त्यसो गर्दा प्रदेश सभाको अवधि मंसिर ५–७ गतेसम्म छ। स्थानीय तहको अवधि जेठ ५ गतेसम्म छ। जेठ ५ गतेलाई आधार बनाएर स्थानीय तहको निर्वाचन वैशाख र मंसिर पहिलो हप्तालाई आधार बनाएर कात्तिकमा या मंसिरको पहिलो हप्तामा प्रदेशको चुनाव हुनुपर्‍यो।’

एकैचोटि गर्दा संविधान मिचिने भएकाले देश फेरि राजनीतिक दुर्घटना जानसक्ने चेतावनी दिए। चुनावमा हिजो शान्ति सम्झौता, १२ बुँदे समझदारी, संविधान सभाका पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ भन्ने स्पष्ट मत रहेको बताए।‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानमाथि प्रहार भएको छ, त्यसको रक्षाको निम्ति एक ठाउँमा उभिनुपर्छ, सहकार्य गर्नुपर्छ। वामपन्थीहरूको बीचको सहकार्यलाई पनि हामीले प्राथमिकतामा राख्नुपर्छ भनेका छौँ’ प्रचण्डले भने, ‘तर वामपन्थी मात्रै मिलेर पनि अहिलेको राष्ट्रिय सङ्कटको समाधान हुँदैन। त्यसमा १२ बुँदे समझदारीका सहयात्री र संविधान सभाका सहयात्री सबै मिल्नुपर्छ। हामी सबैसँग संवादमा छौँ।’उनले प्रधानमन्त्रीको भारत भ्रमण सामान्य र नियमित मात्रै भएको टिप्पणी पनि गरे।