वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८३
171
SHARES

१० मंसिर काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका छन्।  काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको चुनाव आउँदो वैशाखमा गर्नुपर्ने बताए। ‘वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ,’ ओलीले भने।

उनले दुवै चुनाव सँगै गर्न सकिने पनि बताए। त्यसका लागि स्थानीय तहको चुनावपछि पछि धकेल्नुपर्ने उनको भनाइ थियो। ‘यदि एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गरौं,’ उनले भने।  अब हुने दुवै चुनाव प्रतिनिधि सभाको जस्तो नहुने उनको भनाइ थियो। ‘चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ। अस्तिनको जस्तो हुँदैन,’ ओलीले भने।

दुई तिहाइको सरकार भन्दैमा जे पनि गर्न नपाइने उनको चेतावनी थियो। संसद् छलेर अध्यादेश ल्याउने कुरा सही नभएको उनले बताए। ‘यो सराकर दुईतिहाइको होइन, यो पनि बहुमतको सरकार हो। झन्डै दुईतिहाइ भन्नु, दुईतिहाइ भन्नु उस्तै होइन,’ ओलीले भने, ‘दुईतिहाइ छ भनेर जे पायो त्यही गर्न पाइँदैन। संसद छल्ने, अध्यादेश ल्याउने होइन।’