एमालेसहित सबैलाई एउटै केन्द्रमा उभ्याउने प्रयासमा छौँ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १३ २०८३
304
SHARES

१२ मंसिर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टी पुनर्निर्माण र जनतासँगको सम्बन्ध सुदृढ बनाउन दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताएका छन्।

नेकपाको उपत्यका प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी सदस्यता नवीकरण, आगामी स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने र पार्टी महाधिवेशनको तयारीलाई अघि बढाउनको लागि अभियान सुरु गरिएको बताए।

विविध कारणले मंसिरमा महाधिवेशन गर्न सम्भव नभएपछि राष्ट्रिय जागरण अभियानमार्फत त्यसको तयारीलाई पनि अगाडि बढाउने लक्ष्य राखिएको बताए। अभियानलाई जनतासँगको सम्बन्ध जोड्ने तथा आन्दोलन र जनताबीच पुलको रूपमा विकास गर्ने उद्देश्यसमेत रहेको उनको भनाइ छ।

पार्टी पुनर्निर्माणका लागि कम्युनिस्ट घटकहरूबीच एकता र ध्रुवीकरणको प्रक्रियालाई निरन्तरता दिइने बताए। नेपालमा वामपन्थी जनमतको ठूलो हिस्सा रहेकाले त्यसलाई एकीकृत गर्न सके मात्रै समाजवाद निर्माणको आधार तयार हुने बताए।

उनले भने, ‘अन्य विभिन्न पक्षसँग वार्ता, संवाद, सकारात्मक र रचनात्मक सोचका सहित एकतामा ल्याउनको लागि, ध्रुवीकरणमा ल्याउनको लागि हामी सबैले पनि सामूहिक रूपले प्रयास गर्नुपर्दछ। हामी केन्द्रमा चाहिँ आशावादी छौँ। अहिले विभिन्न पक्षसँग हामी सहकार्यमै छौँ।’
पार्टीका नेता तथा कार्यकर्तालाई आआफ्नो क्षेत्रमा रहेका अन्य कम्युनिस्ट समूहसँग वार्ता, संवाद र सहकार्य गरी एकता तथा ध्रुवीकरणको प्रक्रिया अघि बढाउन आग्रह गरे।

उनले थपे, ‘सहकार्य र कार्यगत एकताको प्रक्रियालाई अगाडि बढाउँदै लैजाने र विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताकै झण्डामा केन्द्रित गर्ने र मात्रै अहिले देशमा देखा परेका समस्याहरूको समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ अगाडि बढेका छौँ।’

वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि कम्युनिस्ट घटकहरूबीचको एकता मात्रै पर्याप्त नहुने भन्दै शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच पनि मोर्चाबन्दी आवश्यक रहेको बताए। उनले एमाले र मसालसँग पनि कार्यगत एकता सुरु गरिसकेको बताए।

‘अझै पनि नेपालका साना ठूला कम्युनिस्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याइपुर्‍याउने हाम्रो कसरत जारी छ’ उनले भने, ‘हामीले विगतमा पनि एकताको झण्डा नउठाएको होइन। हामी सबैलाई सम्झना छँदैछ। तर त्यसलाई बचाउन सकिएन। एकचोटी असफल भयो भन्दैमा फेरि पनि प्रयासै नगर्ने भन्ने हुन सक्दैन।’

अहिले पनि फेरि कम्युनिस्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित साना ठूला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गरेको बताए। शान्ति, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउन पार्टीले संवाद अघि बढाइरहेको उनको भनाइ छ।