अनुशासनहीनतालाई छुट दिन सकिँदैन – महामन्त्री संग्रौला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८३
342
SHARES

११ मंसिर काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले अनुशासनहीनतालाई अब कुनै पनि बहानामा छुट दिन नसकिने बताएकी छन्।सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अनुशासन र विद्रोहीमाथि कडा कारबाही गर्ने चेतावनी दिइन्।

उनले भनिन्, ‘पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने वा असहयोग गर्ने जो कोहीलाई पार्टीले तत्काल र कडा कारबाही गर्नेछ भन्ने सन्देश आजैबाट स्पष्ट रूपमा तल्लो तहसम्म प्रवाह गरौँ। अनुशासनहीनतालाई अब कुनै पनि बहानामा छुट दिन सकिँदैन।’लामो समयदेखिको आन्तरिक अन्योल, वैधानिकताको बहस र विभिन्न अवरोधहरूलाई चिर्दै निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानसम्मत विवरण र आधिकारिकतालाई अद्यावधिक गरी मान्यता प्रदान गरिसकेको बताइन्।

उनले अगाडि भनिन्, यसले पार्टीभित्रको आन्तरिक विवाद र वैधानिकताको प्रश्नलाई सदाका लागि समाप्त पारेको छ। अब हामीसँग न त कुनै बहाना छ, न त अलमलिनुपर्ने कारण नै।’विगतमा नेपाली कांग्रेसबाट निर्वाचित हाम्रा मेयर तथा स्थानीय जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनमा गरेका राम्रा कामहरूको तथ्याङ्कसहित व्यापक प्रचारप्रसार गर्नुपर्ने बताइन्। आगामी ५ वर्षका लागि प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसको स्पष्ट भिजन, नीति र कार्ययोजना के हो? भन्ने ठोस खाका लिएर जनताको घरदैलोमा जानुपर्ने बताइन्।

उनले भनिन्, ‘हामी तयार छौँ अभियान र वैधानिक स्पष्टता निर्वाचन आयोगबाट पार्टीको विवरण अद्यावधिक भइसकेको वर्तमान अवस्थामा अब हामी नै आधिकारिक कांग्रेस हौँ, अब अदालत वा मुद्दा मामिलाको झमेलामा अल्झनु जरुरी छैन भन्ने स्पष्ट र आत्मविश्वासपूर्ण सन्देश देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म पुर्‍याउनुपर्छ।’