नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
११ मंसिर काठमाडौं । नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना गरिने भएको छ । यही नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप)को आयोजनामा डबलट्री बाई हिल्टन होटेलमा हुने सम्मेलन बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका निम्ति नेपाली राजदूतावासको संरक्षणमा आयोजना हुन लागेको हो ।
‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ भन्ने मूल अवधारणामा केन्द्रित सम्मेलनमा पाँच प्रमुख विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।
नेपालका उत्पादनलाई युरोपेली बजारसम्म पुर्याउने सम्भावना, युरोपेली लगानी भित्र्याउने वातावरण, प्रविधि हस्तान्तरण तथा डिजिटल क्षेत्रमा संयुक्त अवसर सिर्जना गर्ने विषयमा सम्मेलनले विशेष जोड दिने अपेक्षा गरिएको छ ।
नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र दुवै क्षेत्रका व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार पनि सम्मेलनका महत्त्वपूर्ण एजेन्डा रहने जनाइएको छ ।