कांग्रेसको लिडरसिप एकेडेमीले ४५ दिन कक्षा सञ्चालन गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
589
SHARES

१३ मंसिर काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका सम्भावित उमेदवारलाई लक्षित गरी ४५ दिनसम्म प्रशिक्षण कक्षा सञ्चालन गर्ने भएको छ । पार्टीको नयाँ विधानमा गरिएको व्यवस्थाअनुसार गठन हुने लिडरसिप एकेडेमीमार्फत यस्तो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।एकेडेमीले देशभरका ७५३ वटै स्थानीय तहबाट अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत पदमा उमेदवारी दिन आकांक्षी नेताहरूलाई लक्षित गरी पाठ्यक्रम तयार गर्नेछ । स्थानीय तहका विभिन्न पदमा कांग्रेसबाट उमेदवार बन्न इच्छुकहरूलाई आवेदन आह्वान गरी प्रशिक्षणमा सहभागी गराउने तयारी छ ।

कांग्रेस सभापति गगनकुमार थापाका अनुसार एकेडेमीले भौतिक उपस्थितिका साथै अनलाइन माध्यमबाट पनि कक्षा सञ्चालन गर्नेछ । प्रशिक्षणका क्रममा स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, स्थानीय सरकारका अधिकार तथा जिम्मेवारी, स्थानीय तहका प्राथमिकता, कांग्रेसका नीति, कार्यक्रम र प्राथमिकताका विषयमा प्रशिक्षण दिइनेछ । स्थानीय तहको आवश्यकता र प्राथमिकताका विषयमा उमेदवारीका आकांक्षीलाई जानकारी गराउँदै जनप्रतिनिधिका रूपमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे समेत अभिमुखीकरण गरिने सभापति थापाले बताएका छन् ।