स्थानीय तह निर्वाचनमा नेकपाको एकल तयारी


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
6.4K
SHARES

१३ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आउँदो स्थानीय तह निर्वाचनलक्षित एकल तयारी अघि बढाएको छ । राष्ट्रिय जागरण अभियानसँगै पार्टीले स्थानीय तहमा संगठन विस्तार, जनपरिचालन र निर्वाचनकेन्द्रित गतिविधिलाई तीव्रता दिएको हो । नेकपाका प्रमुख सचेतक एवं सांसद युवराज दुलालले अहिले एकल रूपमा निर्वाचनको तयारी गर्न पार्टीपंक्तिलाई निर्देशन दिइएको बताए । चुनावका बेला अरू दलसँग गठबन्धन गर्नुपर्ने अवस्था आए पनि एकल तयारीले सहज हुने उनको भनाइ छ ।

उनले  भने, “हामीले अहिले एकल तयारी गरिरहनुस्, पछि गठबन्धनमा जाँदा पनि सहज हुन्छ भनेका छौँ । सोहीअनुसारको तयारी भइरहेको छ ।” नेकपा (एमाले)सँग चुनावी तालमेल र पार्टी एकताका विषयमा छलफल भए पनि औपचारिक निर्णय भइनसकेको उनले स्पष्ट पारे । तल्लो तहका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने धारणा बने पनि केन्द्रबाट त्यस्तो कुनै निर्णय नभएको उनले जानकारी दिए ।

नेकपाले यही मंसिर ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको छ । मंसिर २५ सम्म चल्ने अभियानलाई पार्टीले संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारसँगै स्थानीय तह निर्वाचनको तयारीका रूपमा समेत अघि बढाएको छ ।