१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा
१३ मंसिर काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ ।
सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन् । फिडरहरूलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको अनुगमन गरी ११ केभी फिडरहरू तत्काल चार्ज गरेर विद्युत् भार (लोड) स्थानान्तरणको काम अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए । उनले हिउँदयाममा काठमाडौँ उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ । यसबाट विद्यमान सबस्टेसनहरूको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो ।
चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ । यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ ।
चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।एसियाली विकास बैंक (एडीबी)को काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो ।