चीनका रक्षामन्त्री वेइ फेङ्गे काठमाडौं आइपुगे


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०७७
6.7K
SHARES

१४ मङ्सिर काठमाडौ । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका छन् ।

रक्षामन्त्री जनरल वेईले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर बंगलादेश प्रस्थान गर्नेछन् ।

चिनियाँ रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइपुगेका हुन् । गत बर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङ्को भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय पाहुना आएका हुन् । कोभिड १९ को महामारीपछि चीनबाट आउने उनी नै सबैभन्दा उच्च अधिकारी हुन् ।

उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री पोखरेलले २०७५ कात्तिकका चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्विपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रधानसेनापति थापाले पनि चीन भ्रमणका बेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए ।

नेपालमा चीनबाट तीन बर्षपछि रक्षामन्त्रीको भ्रमण भएको हो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि चिनियाँ रक्षामन्त्री नेपाल आएका छैनन् ।

कोभिड १९ को महामारीका कारण एक बर्षयता नेपाल र चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । कोभिड १९ का कारण चीनबाट जनमुक्ति सेनाका प्रमुख लि जुओचेङको नेपाल भ्रमण हुन सकेन ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा अपरान्ह डेढ बजे सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ ।

त्यसअघि रक्षामन्त्री वेई चिनियाँ राजदूताबासमा हुनेछन् । उनले चिनियाँ सैन्य सहचारी तथा राजदूतबाट नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ् लिएर जंगी अड्डा जाने कार्यक्रम रहेको चिनियाँ स्रोतले बतायो ।

प्रधानसेनापति थापाले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने र शुरुवातमा सानो समूहमा भेटवार्ता गर्ने छन् । ‘त्यो भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ’ सैनिक प्रबक्ता सन्तोष बल्लभ पौडेलले भने । औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्ने छन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । दुबैतर्फ परराष्ट्र र रक्षामन्त्रालयका अधिकारीहरु औपचारिक वार्तामा सहभागी हुनेछन् ।

प्रधानसेनापति नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्ससहित बरिष्ठ अधिकारीहरु सहभागी हुने तय भएको छ ।

प्रधानसेनापतिसँग औपचारिक वार्ताको अर्थ यो भ्रमणको सैन्य पक्ष बढी भएको अर्थमा लिनुपर्ने सैन्य अधिकारीहरु बताउँछन् । करिब ५ घण्टाका लागि आएका रक्षामन्त्री वेई सबैभन्दा बढीसमय अर्थात् २ घण्टा २० मिनेटजति जंगी अड्डामा व्यतित गर्नेछन् ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालले दुई बिषयमा चासो राख्ने तयारी गरेको छ । कोभिड १९ का कारण प्रभावित भएको तालिम आदनप्रदान कार्यक्रम र विद्यार्थी आदन प्रदान सुचारु गर्ने प्रस्ताब नेपालको हुनेछ । तीन बर्षअघि शुरु भएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर सुचारु गर्ने नेपालको प्रस्ताब हुनेछ ।

यसैगरी, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति थापा गत बर्ष चीन भ्रमणमा जाँदा चिनियाँ सेनाले दिने घोषणा गरेको १५ करोड चिनियाँ युयान (२ अर्ब ४० करोड रुपियाँ) सहायताको कार्यान्वयनका बिषयमा नेपालले चासो राख्नेछ ।

चीनले प्रकोप व्यवस्थापनका लागि नेपाली सेनालाई यो रकम बराबरको सहायता दिने घोषणा गरेको थियो । यीबाहेक एक अर्काको सुरक्षा चासोका बिषयमा पनि छलफल हुने सैनिक अधिकारीहरुको भनाई छ ।

‘जंगी अड्डामा मूलतः सुरक्षा र प्रतिरक्षाका बिषयमा छलफल केन्द्रित हुनेछ’ कूटनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटमा राजनीतिक सन्देश आदनप्रदान हुनसक्छ ।’ प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ्को गत बर्ष नेपाल भ्रमणका बेला तय भएअनुसार रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा पनि छलफल हुने छ ।