अब तेस्रो जनआन्दोलन आवश्यक रहेको छ – डा. बाबुराम भट्टराई
९ माघ काठमाडौँ। आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको प्रतिगमनको यात्रालाई रोक्न तेस्रो जनआन्दोलन आवश्यक रहेको बताएका छन्।
उनले अब हुने आन्दोलन पहिलो र दोस्रोभन्दा पनि ठूलो र शक्तिशाली हुनुपर्ने बताए। भट्टराईले ओली फासीवादी र हिटलरकै बाटोमा हिँडेर संसद विघटन गरी प्रतिगमनको यात्रातर्फ लागेको आरोप लगाए। ओलीको प्रतिनिधिसभा विघटनको कदम संविधान र लोकतन्त्रमाथिकै प्रहार भएको उनको भनाइ छ।
सरकारले सर्वोच्च न्यायलयलाई समेत कब्जामा लिएको आरोप लगाउँदै उनले राज्यका सबै अंगलाई कब्जा गरेर प्रतिनिधिसभा भंग गरेको बताए।
लामो समयदेखिको सेटिङ र महत्त्वाकांक्षाका कारण संसद विघटन गरिएको बताउँदै उनले अदालतलाई डर देखाइएका कारण सुनुवाइ प्रक्रिया लम्ब्याइएको दाबी गरे। भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाबिना कुनै हालतमा निर्वाचन नहुने बताए।