ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिसकेको छ – नेता नेपाल
१७ माघ विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताएका छन् ।
ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’उनले भने, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’