लोडसेडिङ मैले हटाएको हुँ – प्रधानमन्त्री ओली
१९ माघ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि लोडसेडिङ हटाएको बताएका छन्। आज धनुषाको ढल्केवरस्थित देशकै सबैभन्दा ठूलो चार सय केभीको सवस्टेशन उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री भएपछि देशबाट लोडसेडिङ हटाउन सफल भएको दावी गरेका हुन्।
ओलीले नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताए। प्रधानमन्त्री ओलीले नेपाल अब भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगेको समेत बताए। अबको केही वर्षपछि देशमा बिजुली किन्नै नपर्ने बरु भारत र बंगलादेशलाई बिजुली बेचिने दाबी गरे।
गत कात्तिक २६ गते नै सवस्टेशन पूर्ण रूपमा चार्ज गरिएको थियो। प्राधिकरणले २२ करोड ४३ लाख रुपैयाँको लगानीमा सवस्टेशन निर्माण गरेको हो। प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रा. लि. (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सवस्टेशन बनाउन जिम्मा दिएको थियो। सवस्टेशन सञ्चालनमा आएसँगै ४०० केभीको ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल र भारतबीच १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने जनाइएको छ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही नयाँ काम गर्न खोज्दा आलोचना मात्रै गरेको भन्दै केही पत्रकार र सञ्चारमाध्यमप्रति कटाक्ष समेत गरेका छन्। ओलीले पत्रकारहरुलाई सोधे, ’कुरा काट्ने, फिट्नेहरूसँग सकिँदैन। पशुपतिमा चाँदीको ठाउँमा सुनको जलहारी लगाउँदा के बिग्रियोरु कसरी संस्कृति बिग्रियो ? तपाईंका बुवा हलो जोत्नुहुन्थ्यो अनि तपाईंले चाहिँ किन पत्रकारिता गरेको हो ? ’मेरो बुवा हलो जोत्नु हुन्थ्यो तर म प्रधानमन्त्री भएँ मैले परम्परा भत्काएँ’, उनले भने, ’अब हलो जोत्नेको छोरो प्रधानमन्त्री बन्यो भनेर आलोचना गर्नु उचित होला रु राम्रो कामका लागि परम्परा पनि भत्काउँदै जानुपर्छ। यसो गर्दा सभ्यता-संस्कृति बिग्रिँदैन।’