संयुक्त आन्दोलनको तयारी हुँदैछ – प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०७७
5.1K
SHARES

२० माघ काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध सबै दल एक ठाउँमा उभिनु पर्ने बताएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले संयुक्त आन्दोलनका लागि दलहरूलाई एक ठाउँमा उभिन आग्रह पनि गरे।

उनले प्रतिगमनका विरुद्ध एक भएर लड्न प्रमुख दलहरूसँग वार्ता गरिरहेको पनि बताए। उनले प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलनका लागि पहल भइरहेको बताए। ‘प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध काँग्रेस र जसपा लगायतका दलहरूले पनि संघर्षका गरिरहनु भएको छ,’ श्रेष्ठले भने, ‘अब संयुक्त आन्दोलन गर्ने विषयमा हामीहरूले छलफल गरिरहेका छौँ।’

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुनको आधारमै आफ्नो निर्णय गर्ने विश्वास पनि व्यक्त गरे। विधानअनुसार वैधानिक ढङ्गले निर्णय गर्दा पनि निर्वाचन आयोगले अद्यावधिक नगर्नु दुखद रहेको श्रेष्ठले बताए। विधानअनुसार गरिएका निर्णयलाई अद्यावधिक नगरेर विवादको रूपमा सिर्जना गर्नु उपयुक्त नरहेको उनको भनाइ छ।

आयोगले विवाद सिर्जना गरेपछि राजनीतिक दलको दफा ४३ र ४४ अनुसार मंगलबार आधिकारिकताको दाबी पेस गरेको श्रेष्ठले बताए।