फुकुवा नभएसम्म वार्तामा बस्दैनौं – विप्लव


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७
15K
SHARES

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रतिबन्ध फुकुवा र नेता कार्यकर्ता रिहाइ गर्नु सर्त अगाडि सारेको छ। विप्लव समूहका एक नेताले सरकारले आफूहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ परेका आफ्ना नेताहरू रिहा नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेको बताए।

‘वार्ताको पहिलो वातावरण भनेको सरकारले हामीमाथि लगाएको राजनीतिक प्रतिबन्ध र पक्राउ परेका नेता कार्यकर्ता रिहा नै हो। त्यो नहुँदासम्म वार्ताको कुराको के अर्थ भयो र ? अरु कुराको कुनै अर्थ भएन,’ ती नेताले भने। यद्यपि, अनौपचारिक ढंगबाट वार्ताका लागि केही विषयमा छलफल भएको ती नेताले स्वीकार गरे।

सरकार र विप्लव नेकपाबीच वार्ताको हल्ला चले पनि त्यसको अझै प्रष्ट आकार लिन सकेको छैन। पुर्पक्षका लागि थुनामा रहेका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई खानेपानीमन्त्री मणिचन्द्र थापाले गत मंगलबार भेट गरेपछि सरकार र विप्लव समूहबीच वार्ताको तयारी भइरहेको खुलेको थियो।

मन्त्री थापाले सरकार र विप्लव समूह वार्ताको वातावरण भए प्रचण्ड-नेपाल समूह पनि त्यसमा सहयोगी भूमिका खेल्ने बताउँदै आएका छन्। तर, मन्त्री थापा र सुर्दशन भेटको एक सातासम्म वार्ताको कुनै औपचारिक प्रयास भने भएको छैन। सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा राजनीतिक प्रतिबन्ध लगाएको थियो।