अनुत्पादक क्षेत्रमा खर्च घटाउन पर्छ – अध्यक्ष गोल्छा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
5.1K
SHARES

२९ चैत काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भिजनसहित इमान्दारीपूर्वक काम गर्ने हो भने उत्पादन क्षेत्रमा आगामी दशकमा १५० अर्ब डलरभन्दा बढी लगानी हुने बताएका छन्। उनले बजेटको आकार बढाएर मात्रै विकास सम्भव नहुने भन्दै अनुत्पादक क्षेत्रमा खर्च कम गर्न सुझाव दिए।

उनले अव्यावहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘म आज प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्न चाहन्छु, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन। यसमा सुधार आवश्यक छ। पहिले त यसको नियमावली नै बन्नुपर्छ।’

अर्थतन्त्र सुधार र मुलुकको समृद्धिमा निजी क्षेत्रका तर्फबाट योगदान दिन ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को मार्गचित्र तयार पारिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिलेभन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ ले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र समुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए।