सेक्युरिटी प्रेसमा फेरि भ्रष्टाचारको चलखेल


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८
6.5K
SHARES

१३ वैशाख काठमाडौं। गोकुल बाँस्कोटा र विजय प्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरु भइसकेको छ। उक्त अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा नै दिनुपरेको थियो।

विवादमा परेको एउटा कम्पनीलाई सरकारले सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विवादमा तानिएको म्याक्स इन्टरनेसन कम्पनीलाई उक्त ठेक्का दिएको हो।

ठेक्का बोल कबोलमा दोस्रो नम्बरमा रहेको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिने आशयको सूचना केन्द्रले निकालेपछि बोलकबोलमा पहिलो नम्बरमा रहेको एलिमेक इन्टरनेसनल कम्पनी जिल्लिएको छ।

उक्त टेन्डरमा एलिमेक इन्टरनेसनल कम्पनी प्रालिले ६७ करोड रुपियाँ उल्लेख गरेको थियो भने म्याक्स इन्टरनेसनल कम्पनीले ७३ करोड ८८ लाख ९८ हजार ७ सय ४० र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिले ८१ करोडमा बोल कबोल गरेको थियो।

उक्त कम्पनीलाई ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भए पनि सुरक्षण मुद्रण केन्द्रले अख्तियारलाई समेत बेवास्ता गर्दै म्याक्स इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता गरेको छ।

गएको चैत २७ गते अख्तियारले उक्त ठेक्काको फाइल तानेर लगेकै दिन केन्द्रका प्रमुख विकल पौडेल र कम्पनीका मालिक अकवर हुसेनले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका हुन् ।केन्द्रले अख्तियारले फाइल लगेको तेस्रो दिन म्याक्स इन्टरनेसनको नाममा १४ करोड भुक्तानीसमेत दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।