अहिले सेयर बजारमा भारी गिरावट, यी कम्पनीको मूल्य घट्यो
६ असार काठमाडौं । गए साताबाट सुरु भएको सेयर बजार घट्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ । गत साता सोमबार ३०२५.८३ अंकसम्म पुगेको नेप्से त्यसपछि लगातार ३ कारोबार दिन करेक्सन भएको थियो । गत साता नै करेक्सनको दिशामा देखिएको सेयर बजमारमा यो साताको पहिलो कारोबार दिनमा नै भारी गिरवाट देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६३.११ अंकले घटेर २९०५.३२ अंकमा झरेको छ ।
गत साता नेपाल धितोपत्र बोर्डले बजार माथि पुगेसँगै जोखि बढेको आशयसहितको विज्ञप्ति जारी गरेको थियो । बोर्डले विभिन्न ५१ सूचीकृत कम्पनीको नाम नै तोकेर जोखिमयुक्त भनेपछि सेयर बजारमा गिरावट सुरु भएको हो ।
सेयर बजारका जानकारहरू नियामक निकायले बैंक बजारमा जोखिम बढ्यो भन्ने विज्ञप्ति जारी गर्नुको साथै आगामी मौद्रिक नीतिलेसमेत बजारलाई असर गर्नसक्ने आशंकाले गर्दा बजारमा करेक्सन भएको बताउँछन् ।
सेयर विश्लेषक रुक्मागत काफ्ले नेपाल धितोपत्र बोर्डको विज्ञप्तिको साथै मौद्रिक नीतिले पनि सेयर कर्जामा कडाइ गर्नसक्ने चर्चा चल्दा बजारमा गिरावट देखिएको बताउँछन् । “नियामक निकायले नै बजार अनपेक्षित रूपमा बढ्यो भन्ने आशय देखाउँदा त्यसको प्रभाव त पर्ने नै भयो,” उनले भने, “केही लगानीकर्ताले बजारलाई खेलाउन खोजे पनि आफ्नै विशेषता अनुसार अगाडि बढ्ने हो । बजार यति उचाईमा पुग्दैगर्दा राम्रो करेक्सन भएको छैन, अब करेक्सन हुनसक्छ ।”
उनले भनेजस्तै पछिल्लो चार कारोबार दिनमा नै नेप्सेमा १२० अंकको गिरावट भएको छ । बजार परिसूचक सँगै कारोबार रकम पनि घट्दै गएको छ । एकदिन १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको बजारमा पछिल्लो समय कारोबार रकम क्रमशः घट्दै गएको छ ।
आज नेप्सेमा २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १ करोड ९४ लाख २ हजारको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको सबै उपसूचकमा गिरावट भएको छ । आज कारोबारमा आएका सबै कम्पनीको उपसूचकमा गिरावट भएको छ । आज नेप्सेमा विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक ३ प्रतिशत माथिले गिरावट भएको छ ।
आज कारोबारमा आएको अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । १८३ सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा १७५ कम्पनीको मूल्य घटेको छ । यस्तै ५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीका भने स्थिर रह्यो ।
गोर्खाज फाइनान्सको सेयर मूल्य ५.४१ प्रतिशतले बढ्दा नेशनल हाइड्रोपावरको सेयर मूल्य ३.३६ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३.१६ प्रतिशत तथा तारागाउा रिजेन्सी हाटेको २ प्रतिशत र नारायणी विकास बैंकको ०.१५ प्रतिशतले बढेको छ ।
यता युनियन हाइड्रोपावरको सेयर मूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ । आज नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीको सवार्धिक ८१ करोडको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको ४३ करोड २ लाख ५५ हजारको कारोबार भएको छ ।