माथिल्लो तामाकोसी अन्तिम चरणमा, असारभित्रै १५२ मेगावाट बिजुली
१२ असार काठमाडौं । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।
असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ ।
यस्तै, हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको छ । सो युनिटको समेत काम सम्पन्न गर्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोड्न लागिएको हो ।
कुल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु भएको झन्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो ।