१४ अर्बको हकप्रद सेयर बिक्रीका लागि सेबोनको अनुमति
२६ असार काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षमा कुल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबर रुपैयाँको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डको विवरणानुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रद सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।
नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ एचआडीसीएलले हकप्रद सेयर बिक्री गर्न लागेको हो । बोर्डले कम्पनीलाई ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । हाल ११ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले हकप्रद सेयर बिक्री गरेपछि कुल पूँजी २२ अर्ब रुपैयाँ बराबर पुग्नेछ ।
कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी गरिरहेको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो ।
यस्तै, बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो । कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो ।
यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो ।
यस्तै, बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब चार करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डले पछिल्लोपटक मैलुङखोला जलविद्युत् आयोजनालाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कुल १९ कम्पनी पुगेका छन् । मैलुङखोलाले सात करोड ३६ लाख २८ हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ । बोर्डले कुल १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।
शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका थिए । यस आधारमा पनि आगामी दिन धितोपत्र बजारको विकास र विस्तारका लागि झनै सुगम बन्ने विश्वास गर्न सकिन्छ । रासस