सेयर बजारमा हरियाली, नेप्से २९०० अंक नजिक


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
5.6K
SHARES

२७ असार काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ७४.७१ अंकले वृद्धि हुँदा २८९९.८२ अंकमा बन्द भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा नेप्से २१.६४ प्रतिशतले बढेर २९०० अंक नजिक पुगेको हो । आर्थिक वर्ष सकिनै लाग्दा बजार परिसूचक र कारोबार रकम दुबैमा वृद्धि देखिएको हो । नेपाल राष्ट्र बैंकले अर्को साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको र आर्थिक वर्षको अन्तिममा ट्रेडरहरु हावी हुँदा बजारमा हरियाली छाएको दलाल व्यवसायीहरु बताउँछन् ।

यस्तो बेला बजारमा उताचढाव हुनसक्ने भएकाले नयाँ लगानीकर्ताहरु भने सचेत हुन आवश्यक छ । आज बजार परिसूचकसँगै सबै उपसूचकमा हरियाली छाएको छ । कारोबारमा आएका सबै १५ वटै कम्पनीको सेयर मूल्य वृद्धि भएको वित्त कम्पनी उपसूचक सवार्धिक ८.३७ प्रतिशत र विकास बैंक उपसूचक ८.२९ प्रतिशतले बढेको छ । विकास बैैंक र वित्त कम्पनी समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यसबाहेक जीवन बिमा उपसूचक २.९२ प्रतिशत, हाइड्रोपावर उपसूचक २.८८ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.३४ प्रतिशतले बढेको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । जेठ ३० गते १९ अर्ब ५५ करोडसम्मको कारोबार भएर त्यसयता लगातार घटेर ४ अर्बमा झरेको कारोबार रकम आज भने ८ अर्ब नाघेको छ । आज नेप्सेमा ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८८ हजारको कारोबार भएको छ ।

२२ कम्पनीको मूल्य बढेर सर्किट लेभलमा बन्द

आज नेप्सेमा १८३ कम्पनीको सेयर किनबेच भएकोमा १७८ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य घट्दा १ कम्पनीको भने स्थिर रह्यो । जसम्ध्ये २२ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा अधिकांश वित्त कम्पनी र विकास बैंक रहेका छन् ।

यता, कर्पोरेट डेभलमेन्ट बैंक, ओरिएन्टल होटेल, अपर तामाकोशी हाइड्रोपावर र नेपाल दुरसञ्चार कम्पनीको सेयर मूल्य भने घटेको छ ।

आज नेप्सेमा बैंकिङ क्षेत्रका कम्पनीले कारोबारमा लिड गरेका छन् । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै ३९ करोड ९६ लाख १२ हजारको कारोबार हुँदा नबिल बैंकको २५ करोड ८१ लाख ८२ हजार र नेपाल बैंकको २४ करोड ४३ लाख ८५ हजारको कारोबार भएको छ । यस्तै धेरै रकमको कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रचर बैंक र मञ्जुश्री फाइनान्स पनि रहेका छन् ।