अध्यादेश नटुंगाई मन्त्रालयको कामले गति लिन सक्दैन – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०७८
6.4K
SHARES

८ साउन काठमाडौं। आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पारेका छन्। अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुंगो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताएका हुन्।

अर्थ मन्त्रालयमा आयोजित अन्तर्क्रियामा उनले भने, ‘संसदमा मैले अध्यादेश टेवुल गरिसकेको छु। संसदले एक ढंगले त्यो टुंगो लगाउँला। त्यो टुंगिएपछि मात्र अर्थ मन्त्रालय प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था आउनेछ।’ अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयको पुनःसंरचना गरेर अगाडि बढ्नु पर्ने बताए। मन्त्रालय आफ्नै संरचनाभित्र जेलिएका कारण त्यसलाई पुनःसंरचना गरेर अगाडि बढ्ने उनको भनाइ छ।

अर्थमन्त्री शर्माले भने, ‘मन्त्रालय भनेको जनतालाई सहजीकरण गर्ने निकाय जस्तो हुनुपर्नेमा आफ्नै संरचनाहरुमा जेलिएको अवस्थामा छ। यस्तो अवस्थामा मन्त्रालय भित्रै पुनर्संरचना गरेर अघि बढनुपर्नेछ।’ उनले मन्त्रालयका सबै कामलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे।

शर्माले कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु धरासायी अवस्थामा रहेको उल्लेख गर्दै त्यसका जटिलताहरुलाई हटाएर अघि बढनुपर्ने अवस्था रहेको बताए। वित्तीय तथा आर्थिक अनुशासनको संकट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने चुनौती आफूमाझ रहेको पनि उनले स्पष्ट पारे।

अर्थमन्त्री शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताए। मुलुकको अर्थतन्त्रको यथार्थता चित्रण आम नेपाली जनतालाई जानकारी गराउने पनि उनले दोहोर्‍याए।

कार्यक्रममा सेजनका पदाधिकारीहरुले कोरोनाका कारण थिलथिलो बन्न पुगेको अर्थतन्त्रलाई पुनर्जीवन दिने कामका पहल गर्न मन्त्री शर्मालाई सुझाव दिएका थिए।