अफगानिस्तानका मुख्य शहरमा भीषण युद्ध, प्रान्तीय राजधानी कब्जा गर्ने तालिवानी प्रयास


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १९ २०७८
11K
SHARES

१९ साउन एजेन्सी । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तको राजधानी सहर लश्कर गाहमा सरकारी सेना र तालिवानी लडाकुहरुबीच भीषण युद्ध चलिरहेको छ ।तालिबानको नियन्त्रणमा पुग्नसक्ने सम्भवतः यो पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतरा बढेको छ ।

अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि लश्कर गाहमा तालिबानी लडाकुहरुले कडा प्रतिवाद गरिरहेका छन ।त्यहाँ तालिबानले एक टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ।

ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएका छन्।यहाँ जताततै लडाइँ भइरहेको छ,’ त्यहाँको अस्पतालमा रहेका एकजना चिकित्सकले बीबीसीलाई भने।

विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ।बीस वर्षपछि अमेरिकी सैनिकहरू अफगानिस्तानबाट हटेपछि अहिले त्यहाँ तालिबानले तीव्र रूपमा कैयौँ भू–भागहरू कब्जा गरिरहेको छ।

हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो। उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ।

यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ। तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गर्ने कोसिस गरिरहेको छ।

त्यहाँको विमानस्थलमा आइतवार रकेट हमला भएको थियो।
कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ। यो सफलताले तालिवानलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि थप बल मिल्नेछ ।

लश्कर गाहका एकजना चिकित्सकले कैयौँ दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन्।

चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसूद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको सङ्ख्या पनि बढिरहेको छ।

उनले अन्य कैयौँ घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताए। उनको भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तालिबानले गरेका अत्याचारका गम्भीर खाले घटनाहरू देखापरेको प्रतिक्रिया दिएका छन्। उनले खतरामा परेका अफगानीहरूका लागि नयाँ शरणार्थी कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण कूटनीतिक, व्यवस्थापकीय र प्रशासकीय चुनौतीहरू हुने बताएका छन्।

तालिबानले अमेरिकालाई सहयोग गर्ने कैयौँ अफगानप्रति प्रतिशोध साँध्न सक्ने ठानिएको छ। नयाँ शरणार्थी कार्यक्रमले पहिले योग्य नहुने ठानिएका कैयौँ अफगानहरूलाई अमेरिकामा बसोबास गर्ने अवसर मिल्नेछ ।

तर अमेरिकामा बसोबास गर्न चाहने त्यस्ता व्यक्तिहरूले आवेदन दिनुपूर्व अफगानिस्तान छाडिसक्नुपर्नेछ र प्रक्रिया पूरा गर्न एक वर्षदेखि चौध महिनासम्मको समय लाग्ने बिबिसीले जनाएको छ ।