६० देशमा एनआरएनएको निर्वाचन: ४ देशमा लफडा, ४२ देशमा सर्वसम्मत
२१ साउन काठमाडौ । विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतका राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटा देशमा निर्वाचन सम्पन्न भएको छ ।निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध , ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाइनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो ।
निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन र विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।महासचिव शर्माका अनुसार राष्ट्रिय समन्वय परिषद् यूएईमा आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । उनले यूएईमा छिटै निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको समेत बताए ।
यस्तै, उनले राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका (केही क्षेत्रमा स्थगित) निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए ।
विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् रहेका र तीमध्ये विभिन्न २० वटा राष्ट्रिय समन्वय परिषदहरू लामो समयदेखि निष्क्रिय छन् ।