कर्णालीमा खाद्यबालीको उत्पादन बढ्यो, तरकारी घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
8K
SHARES

३० भदौ सुर्खेत । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७-७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।

प्रदेशभर धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो ।

तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनले जनाएको छ ।पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादन ०.६९ ले कमी आएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।