दक्षिण कोरियाले पानीमुनिबाट गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
4.8K
SHARES

३० भदौ सिओल । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाले बुधबार पानीमुनिबाट ‘सबमरिन–लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) परीक्षण गरेको हो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पहिलोपटक पानीमुनिबाट ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ । तीन हजार टनको पनडुब्बीबाट सो क्षेप्यास्त्र प्रहार गरिएको हो ।

परीक्षणको सफलतासँगै आफ्नै देशमा बनाएको ब्यालिस्टिक क्षेप्यास्त्र पनडुब्बीबाट परीक्षण गर्ने दक्षिण कोरिया विश्वको सातौँ देश बनेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । राष्ट्रपति मुन जेइ इनले क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका थिए ।

सो क्षेप्यास्त्रले सम्भावित बाह्य खतरालाई रोक्ने अपेक्षा गरिएको बताइएको छ । उत्तर कोरियाको आणविक क्रियाकलापका कारण कोरियाली प्रायद्वीप तनावग्रस्त छ ।

बुधबार छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले सोमबार लामो दुरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।