कांग्रेस अरूलाई धोका दिँदैन – प्रधानमन्त्री देउवा
२१ वैशाख काठामाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरू धोका खान तयार भएको तर कुनै पनि पार्टीलाई कांग्रेसले धोका नदिने बताएका छन् ।
बुधबार मोरङको विराटनगरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको चरित्र धोका दिने नभएको बताए । उनले सत्ता गठबन्धनमा कुनै पनि किसिमको शंका–उपशंका नगर्न पनि आग्रह गरे । “हाम्रो कर्तव्य पनि हो नि, कांग्रेस पार्टीले कसैलाई पनि धोका दिँदैन है ! कांग्रेस पार्टीले धोका खाए पनि कसैलाई धोका दिँदैन,” उनले भने ।
देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको पनि बताए । आफूलाई प्रधानमन्त्री बन्ने रहर नहुँदा पनि गठबन्धन दलहरूले सहयोगले गरेपछि प्रधानमन्त्री बन्नुपरेको उनको भनाइ छ ।