उम्मेदवारको मुख हैन, रूख हेर्नुहोला – महामन्त्री शर्मा
२१ वैशाख विराटनगर। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर काँग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताएका छन्। बुधबार काँग्रेसले विराटनगरमा गरेको आमसभामा उनले एमाले र काँग्रेसको घोषणापत्रको तुलना गरेका हुन्।
‘एमाले र काँग्रेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईं रोज्न सक्नुहुन्छ,’ उनले भने, ‘… एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, काँग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ, तपाईको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ।’
काँग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए। महामन्त्री शर्माले काँग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको बताए। संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यात्मक भएको उनको भनाइ छ।
शर्माले कसले टिकट पायो भन्नेतर्फ नलाग्न कार्यकर्तालाई आग्रह गरे। ‘कसले टिकट पायो पाएन भनेर नहेरिदिनु होला,’ उनले भने, ‘रूख हेर्ने हो, मुख हेर्ने हैन, गठबन्धन भएको छ भने उनीहरूलाई भोट हाल्नुस्।’