हाम्रो सभापतिलाई ढाँट्ने/धोका दिने काम नहोस् – जितनारायण श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
6.9K
SHARES

२२ वैशाख काठमाडौं । नेपाली कांग्रेसको चितवन जिल्लाका निर्वतमान सभापति जितनारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विगतमा जस्तै कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् । बिहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले पाँच वर्षअघि गठबन्धन गरेर माओवादी नेत्री रेणु दाहाललाई जिताए पनि बाँकी प्रतिबद्धता तीन महिनामै भत्किएको गुनासो गरे । उनले अहिले फेरि गठबन्धन बनेको भन्दै पुनः त्यस्तै गल्ती नदोहोर्‍याउन आग्रह गरे ।

नेता श्रेष्ठले आफ्नो पार्टीको सोझो सभापतिलाई ढाँट्ने काम नगर्न पनि अनुरोध गरे । “हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यही गर्नुहुन्छ , भोलिको दिनमा हिजोजस्तो ढाँट्ने, धोका दिने काम नहोस्,” उनले भने “पाँच वर्षअघि जे प्रतिबद्धता यहाँ भएको थियो, तीन महिनापछि टुट्यो । अहिले पनि त्यस्तै नहोस् ।” निर्वतमान सभापति श्रेष्ठले कांग्रेसले रेणु दाहाललगायत सिंगो गठबन्धनले जित्ने भन्दै उमेदवारी फिर्ता लिन जगन्नाथ श्रेष्ठलाई आग्रह गरे ।