४० अर्बको ट्रेजरी बिल सोझै किनेर तरलता पठाउँदै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
2.6K
SHARES

६ असोज काठमाडौं । बैंकहरु तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको  ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो । ६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेश गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वाषिर्क प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ राष्ट्र बैंक्ले जनाएको छ ।

तर, समान वाषिर्क प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँट हुनेछ । चालु आर्थिक वर्षमा नवीकरणको लागि बोलकबोल भएको ट्रेजरी बिल राष्ट्र बैंक आफैले धमाधम खरिद गरिरहेको छ । तर, यसपटक भने ट्रेजरी बिल सोझौ खरिद गरेर राष्ट्र बैंकले प्रणालीमा तरलता पठाउन लागेको हो ।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो । चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो । यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो । २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल साझै खरिद हुने केन्द्रीय बैंकले जनाएको छ ।