मंसिरदेखि पुससम्म सरकारले ३० अर्ब आन्तरिक ऋण उठाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २५ २०७९
1.6K
SHARES

२५ कार्तिक काठमाडौ । सरकारले मंसिरदेखि आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि उठाउने आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले उठाउने आन्तरिक ऋणको निष्कासन गर्ने काम राष्ट्र बैंकले गर्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्तर्गत मंसिर र पुसमा ट्रेजरी बिल (एकवर्षभन्दा कम समयको ऋणपत्र) तथा विकास ऋणपत्र जारी गर्न लागेको हो ।

राष्ट्रका अनुसार मंसिरमा ३६४ दिनको ट्रेजरी बिल निष्कासन हुनेछ । दुईपटक गरेर १५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन हुनेछ । यस्तै पुस महिनामा दुई, तीन र चारवर्ष समयको विकास ऋणपत्र निष्कासन हुनेछ । दुईवर्षको आठ अर्ब, तीनवर्षको दुई तथा चार वर्षको पाँच अर्बको विकास ऋणपत्र निष्कासन हुनेछ ।

चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ । जसमा ट्रेजरी बिलबाट एक खर्ब ५० अर्ब, विकास ऋणपत्र एक खर्ब, नागरिक बचतपत्र पाँचवर्ष तथा वैदेशिक रोजगार बचतपत्र एक अर्बको निष्कासन हुनेछ । तरलता अभावका कारण सरकारले उठाउने ऋणपत्रको ब्याजदर समेत बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिबाट बैंकदरलाई साढे ८ प्रतिशत बनाएको तथा तरलता अभावले ट्रेजरी बिलको ब्याजदर १० प्रतिशत छ । गत आर्थिक वर्षमा ५ प्रतिशतभन्दा कमको ब्याजदरमा सरकारले आन्तरिक ऋण उठाएको थियो । यो वर्ष १० प्रतिशतमा आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता सरकारलाई हुने देखिएको छ ।