देशको नेतृत्व कांग्रेसले छिट्टै लिन्छ – प्रवक्ता महत
२ माघ काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । आइतबार तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका प्रवक्ता डा। महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए । ‘विभिन्न रूपरङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागिपर्नेछ,’ उनले भने ।