राष्ट्रपतिमा देउवाले लिए रामचन्द्र र सिटौलाको नाम , कसले मार्लान बाजी ?
१० माघ काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल सुरु भएको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बैठक बोलाएका थिए । एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिएका हुन् ।यसअघि पौडेलमात्र आकांक्षी देखिएका थिए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर ६ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक बन्न पुगे । त्यस बेला उनलाई राष्ट्रपतिको आश्वासन दिइएको कांग्रेस नेताहरु बताउँछन् ।१० पुसमा गठबन्धन भत्कियो, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनायो ।सरकार गुमेपनि कांग्रेसले त्यही बेलादेखि राष्ट्रपति लिने गरी माओवादीसँग सम्बन्ध सुधार थालेको थियो । त्यही कारण २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । नेताहरुका अनुसार त्यसको अघिल्लो दिन भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई विश्वासको मत दिए फेरि सहकार्यको आधार बन्ने र राष्ट्रपतिका लागि कोशिस गर्ने आश्वासन दिएका थिए ।
त्यही आधारमा कांग्रेस नेताहरुले अहिले पनि राष्ट्रपति निर्वाचनसम्म परिस्थिति फेरिनसक्ने बताउने गरेका छन् । माओवादीका नेताहरुले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको र कांग्रेसलाई पनि सँगै लिएर जानुपर्ने बताउन थालेका छन् ।
कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘माओवादीले राष्ट्रपतिमा हामीलाई समर्थन गर्छ भन्ने छैन । तर सम्वादमा रहेका नेताहरुले कोशिस गर्ने हो भन्नुभएको छ ।’
पदाधिकारीको बैठकमा प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनबारे संविधान र ऐन बाझिएको विषय उठाएका थिए । तर सभापति देउवाले यो प्राविधिक विषय भन्दै पन्छाए ।
स्रोतका अनुसार कांग्रेस वरिष्ठ नेता पौडेल, प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्वादमा छन् । कृष्ण सिटौलाले भने पार्टीले आफूलाई उम्मेदवार बनाएको अवस्थामा मात्र माओवादीलाई कन्भिस गर्न सहज हुने तर्क गर्ने गरेका छन् ।
‘माओवादीले कांग्रेसलाई समर्थन गर्ने भनेको भए पो जसलाई उम्मेदवार बनाउँदा पनि हुन्छ’, उनले निकटवर्तीहरुसँग भन्ने गरेका छन्, ‘अहिले त उम्मेदवार आफैंले माओवादीको मत लिन सक्नुपर्छ । यो मबाहेक अरुले सक्दैन ।’
स्रोतका अनुसार सोमबारको बैठकमा कांग्रेस नेताहरुले मतभारको हिसाब समेत गरेका थिए । तर माओवादी केन्द्रले संस्थागत निर्णय गरेर मत नदिँदासम्म केही नहुने देखिएपछि प्रधानमन्त्री प्रचण्डसँग विश्वासको वातावरण बनाउन पहल गर्ने समझदारी भएको छ ।
एक नेताका अनुसार माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नसकेको अवस्थामा के गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । कतिपयले एमालेको राष्ट्रपति हुन नदिन विकल्पबारे पनि सोच्नुपर्ने बताएका छन् ।
तर सभापति देउवाले अहिले यसबारे छलफल नै नगर्ने बताएका छन् । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सबै दलसँग भोट माग्ने उनले बनाएका छन् ।