राष्ट्रपतिमा मेरो पनि चर्चा छ – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
2.5K
SHARES

१४ माघ गोरखा । आज नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम पनि राष्ट्रपतिका लागि चर्चामा रहेको स्वीकार गर्दै यसबारे अहिले आफूले केही पनि बोल्न नमिल्ने बताउनुभएको छ ।

गोरखामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सहमति हुन सक्ने पात्र नै राष्ट्रपतिका लागि खोजिनुपर्ने बताउनुभयो । अहिले मुलुकको राजनीति अस्थिर रहेकोले समग्र देशको अभिभावकीय भूमिका खेल्न सक्ने पात्र खोजेर राष्ट्रिय सहमति हुनुपर्ने उहाँले बताउनुभयो ।

सञ्चारकर्मीहरुले राष्ट्रपतिमा तपाईंको पनि चर्चा छ नि भनेर सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘सकेसम्म यो ५ वर्षका लागि सरकार सञ्चालन देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपतिका लागि सहमति गरेरै जाऔँ । शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदलिएसम्म मुलुकमा अस्थिरताको खतरा रहन्छ, त्यसैले म राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवीमा छु । यही भएर होला कतिपय शुभेच्छुकले म पनि त्यसका (राष्टूपतिका) लागि एउटा पात्र हुन सक्छु भनेर चर्चा चलाउनुभएको छ । म आफैंले भने यसबारे अहिले बोल्नु हतारो हुनेछ ।’

उहाँले सकेसम्म राष्ट्रपति चाहिँ सबै दलको सहमतिमै बनाऔँ भन्ने बहस चलिरहेको बताउँदै तर कुन पात्र वा व्यक्तिमा सहमति हुन्छ भनेर अहिले भन्न नसकिने बताउनुभयो । सत्ता समीकरण निरन्तर बदलिरहेको परिस्थितिमा स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ थियो ।