शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं – प्रधानमन्त्री
८ फागुन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।
कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभिभारा तपाईंहरूको काँधमा पनि छ।’
उनले संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु।’
उनले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए। शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो।