अखिल (क्रान्तिकारी) ले मानेनन् आफैले जारी गरेको सर्कुलरको निर्णय
९ फागुन काठमाडौ । नेकपा माओवादी केन्द्र का भातृ संगठन अखिल क्रान्तिकारी अहिले पञ्चा सिंह समुह र पवन कार्की समुह मा विभाजित छन् । विभाजित भएको झण्डै १० महिना बित्दा पनि संगठनको विवाद पार्टीले अझै मिलाउन सकेका छैनन् । पार्टी स्थाई कमिटीको बैठकले दुइटै कमिटी विघटन गरेर आयोजक समिति बनाउन निर्देशन दिएका छन् तर दुइटै समुह आ आफनै सुरतालमा हिँडेका छन् । स्ववियु निर्वाचनको सम्बन्धमा तालमेल गर्ने वा नगर्ने सम्बन्धमा भएको छलफलका सन्दर्भमा एकल रुपमा प्रतिस्पर्धा गर्ने निर्णय गरियो भनेर पञ्चा सिंह समुहले गत मिति २०७९ माघ १० गते सर्कुलर जारी गरेका थिए तर निर्णयको एक महिना नबित्दै त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विद्यार्थी संगठनबीच तालमेलको गृहकार्य सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा गर्ने चुनावका लागि तालमेल गर्न कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले कार्यदल समेत बनाएका छन् । तीन सदस्यीय कार्यदलमा नेविसंघबाट दिनेश शाही, अलिख क्रान्तिकारीबाट उपाध्यक्ष क्षितिज सापकोटा र अनेरास्ववियूबाट उपाध्यक्ष हिरेन्द्र शाही रहेका छन् ।
नेविसंघबाट कार्यदल सदस्य दिनेश शाहीले कार्यदलस्तरमा तालमेलका लागि दुई–तीन पटक कुरा भएको बताए । कार्यदल स्तरको छलफलपछि तीनवटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्ने तयारी समेत गरेका छन् । त्यस्तै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि तालमेलका लागि वार्ता भइरहेको बताए । पराजुलीले पनि आफूहरुको सोमबार सकिएको स्थायी समितिको बैठकले तालमेलबारे अन्तिम निर्णय लिने अधिकार सम्बन्धित क्याम्पस र जिल्लालाई दिने निर्णय गरेको बताए ।
यदि पार्टी कमिटीले दिएको निर्णय पञ्चा सिंहले नमान्ने हो भने स्ववियु निर्वाचनमा हामी हाम्रो छुट्टै प्यानल सहित निर्वाचनमा जान्छौं । हामीले आधिकारिक रूपमै सबै कलेजमा हाम्रो प्यानल दिने छौं र पञ्चा सिंह समुह संग प्रतिस्पर्धा गरेर निर्वाचन लड्ने अखिल (क्रान्तिकारी) पवन कार्की समुहका प्रवक्ता उपदेश यादवले भने । तालमेल र सहकार्य आवश्यकता अनुसार कलेज कमिटीले नै निर्णय गर्ने भनी हामीले निर्णय गरेका छौं र थप साथ सहकार्यका लागि विभिन्न प्रगतिशील, वामपंथी संगठन संग छलफल गर्ने छौं , प्रवक्ता यादवले बताए ।