एमालेमाथि चौतर्फी प्रहार भइरहेको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २० २०७९
2.7K
SHARES

२० फागुन काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन् । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको बताए ।

शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद्को केन्द्रिय समिति बैठकमा उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले अहिले पनि सत्ता कब्जा गरिरहेको बताए । अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरूले विगुल फुक्न जरुरी रहेको बताए ।लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरूले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाइ छ ।

“सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् । जनता अल्मल्याउन, चटके कुरा गर्न सफल छन् ।  जनतालाई भ्रममा पार्न सफल छन्,” उनले भने, “सचेत हुन नदिन, जनताको चेतनालाई रोक्न सफल छन् । तिनको त्यो भ्रमजालबाट जनतालाई मुक्त गर्नु पर्दछ । अहिले बौद्धिक जगतले जनतालाई भ्रमबाट मुक्त पार्ने काम गर्नुपर्छ ।”