फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ – प्रधानमन्त्री
२७ फागुन काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।
“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,” प्रधानमन्त्रीले भने, “शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।”