प्रधानमन्त्री, मन्त्री र सचिव भ्रष्टाचार रोक्न ठिक ठाउँमा हुनुपर्‍यो – प्रमुख आयुक्त राई


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३ २०८०
1.7K
SHARES

३ असार काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण नहुने भन्दै राज्यका मुख्य निकाय नै सक्षम हुनुपर्नेमा जोड दिए ।

राईले भने–‘भ्रष्टाचार रोकथाम गर्ने हो भने प्रधानमन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, मन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, सचिवलाई ठिक ठाउँमा राख्नसक्नुपर्यो । सबै ठिक ठाउँमा भए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ  । अहिले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ । भ्रष्टाचार रोक्न सबैभन्दा पहिलो दायित्व राज्य सञ्चालको हुन्छ ।’ राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताउँदै सरकार, समुदाय सबैको उत्तिकै भूमिका हुने उल्लेख गरे ।

बिहान उठेर पत्रिका हेर्दा अहिले समाज नै भ्रष्टाचार चुर्लुम्म डुबेको अनुभूति हुने गरेको राईले बताए । अख्तियार कतिपय उजुरी रिसिवीको कारणले पनि आउने गरेको, कतिपय गोलमटोल तरिकाले पनि उजुरी आउने गरेको उनले बताए ।  राज्यका निकायले जिम्मेवारी र जबाफदेहिता, काम, कर्तव्य र अधिकार सबैले पालना नगरेकोले भ्रष्टाचार बढेको उनले बताए । उनले केन्द्रीय, प्रदेश र स्थानीय सरकारले सुशासन कायम गर्न सके मात्र भ्रष्टाचार रोकथाम हुने बताउँदै सरकारले त्यो काम गराउन नसकेको बताए ।