यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो – बालकृष्ण खाँण


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
3.3K
SHARES

५ असार काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् । केन्द्रीय कारागार, सुन्धाराको एउटा कोठामा खाँणसहित ६ जना बन्दी छन् । सोही कोठामा पूर्वऊर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी पनि छन् ।कारागारमा बसेपछि प्रशासनका अधिकारीहरुले उनीहरुसँग कुराकानी समेत गरेका थिए । स्रोतका अनुसार शरणार्थी प्रकरणका कतिपय बन्दीहरुले डिल्लीबजार कारागार सरुवा हुन चाहेका छन् ।

केन्द्रीय कारागारको तुलनामा थोरै कैदीबन्दी हुने र भेटघाटका लागि पनि सहज वातावरण हुने भएकाले धेरैको रोजाइमा डिल्लीबजार कारागार पर्छ । त्यसैले अधिकारीहरुले खाँणलाई पनि डिल्लीबजार जान चाहे÷नचाहेको बारे सोधेका थिए ।

जवाफमा उनले केन्द्रीय कारागार नै ठिक भएको बताएका थिए । ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो’, खाँणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कारागार अहिले पहिलेको जस्तो रहेनछ ।’

विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेल आफूले पहिले सोचे जस्तो नभएको बताए । ‘यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी रहेछन्, सबै मिलनसार’, खाँणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।