सरकार आक्रमक बन्दै , यी दुई फाइल खुल्दै
१६ असार काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ ।
पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सबैखाले भ्रष्टाचारका फाइल खोलिने बताए ।
यद्यपि नककली भुटानी शरणार्थीसम्बन्धी राज्यविरुद्धको अपराधसम्बन्धी विषयको छानबिन निस्कर्षमा पुगेपछि अरु विषयमा प्रवेश गरिने उनको भनाइ थियो । ‘अहिले नीति कार्यक्रम र बजेटको तयारीमा छौं । नक्कली भुटानी शरणार्थीबारेको अनुसन्धान सकिएर दोषीमाथि मुद्धा अघि बढेपछि अरु फाइल पनि खोलिनेछ’, उनले हामीसॅंग भने । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा सरकारको समर्थनमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागी नागरिकले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।